३१ हजार पर्यटक पुगे घोडेपानी
०७९ मा २६ हजार ३ सय १ जना पर्यटक घोडेपानी पुगेका थिए
म्याग्दी | बैशाख ९, २०८१
म्याग्दी: गत साल २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।
२०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ ।
गत वर्ष २५ हजार दुई सय ७९ जना पर्यटक भित्रिएका र छ हजार एक सय ६० जना घोडेपानी हुँदै अन्यत्र गएका घोडेपानी प्रहरी चौकीका वरिष्ठ हवल्दार टेकबहादुर सुनारी मगरले बताए । सबैभन्दा बढी चैत महिनामा पाँच हजार आठ सय ४९ जना पर्यटक घोडेपानी आएका छन् ।
वैशाखमा चार हजार चार सय १४, जेठमा एक हजार दुई सय ८१, असारमा चार सय ४१, साउनमा नौ सय ४७, भदौमा नौ सय ७२, असोजमा चार हजार दुई सय ९८ र कात्तिकमा चार हजार तीन सय ५७ जना पर्यटक आएका छन् ।

कात्तिकमा चार हजार तीन सय ५७, मङ्सिरमा तीन हजार एक सय ९९, पुसमा एक हजार छ सय २७, माघमा एक हजार पाँच सय ७७ र फागुनमा दुई हजार चार सय ७७ जना पर्यटक आएका थिए ।
२०७९ मा २६ हजार तीन सय एक जना पर्यटकले घोडेपानी घुमेका थिए ।
घोडेपानी टोल सुधार समितिका उपाध्यक्षसमेत रहेकी होटल व्यवसायी जुलीठकुरी पुनले कोरोनाअघिकै लयमा फर्कन नसके पनि पर्यटक आगमन सुधार हुन थालेकाले आशा जागेको बताइन् ।
“अनुकूल मौसम र बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ”, उनले भनिन्, “आन्तरिक पर्यटकले यहाँको होटल व्यवसाय धानिएको छ ।” कोरोनाअघि वार्षिक ६० देखि ७० हजार जना पर्यटक घोडेपानी आउने गरेका थिए ।

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् ।
घोडेपानीमा साना ठूला गरी २७ होटल छन् । ती होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्छन् ।

पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि माइलादाइ होटल तथा रेष्टुराँलाई रु ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ ।
पुनहिल प्रवेश गर्न हरेक नेपालीले रु ५० र विदेशीले रु एक सय ५० शुल्क तिर्नुपर्छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

